Tuesday, March 31, 2020

सरावलका किशोर किशोरीहरु काेराेनाबाट बच्ने उपाय सिकाउनमा व्यस्त



नवलपरासी-१८ चैत्र । नवलपरासीको सरावल गाउँपालिका अन्तर्गत गठित सम्बादका किशोर किशोरीहरु काेराेनाबाट बच्ने उपाय स्थानीय जनतालाई सिकाउने कार्यमा व्यस्त रहेका छन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुन सक्ने जोखिम न्युनीकरण गर्न जिल्लाकाे सरावल गाउँपालिकाका किशोर किशोरीहरु स्थानीयहरुको घर घरमा पुगी कोरोना भाइरसबाट बच्ने उपायहरुबारे घरका अभिभावकहरुलाई सचेत गराई रहेका छन् । एकातिर देशमा लकडाउनको अवस्था छ भने अर्को तिर यस महामारीका कारण हरेक जनतामा त्रासको वातावरण उत्पन्न भएको छ । मान्छेहरु घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन तर किशोर किशोरीहरुले सरावल गाउँपालिका वडा नं. ४, ५ र ६ का स्थानीय जनतालाई घर घरमा प्रत्यक्ष रुपमा भेटेर कोरोना भाइरसका लक्षण र यसबाट बच्ने उपायहरुबारे सचेत गराई रहेका छन् । अहिलेको अवस्थामा यस्तो काम गर्ने आट उनीहरुमा कसरी आयो ? घरबाट बाहिर जान डर लाग्दैन ? भन्ने प्रश्नको जवाफमा सरावल गाउँपालिकामा सञ्चालित सम्बाद कार्यक्रमकी सहभागी किशोरी पार्वती चौधरी र अनिल गुप्ता भन्छन् : 'हामीलाई स्ट्राेम फाउन्डेसन नेपालको आर्थिक सहयोगमा ए. बि. सी. नेपाल र सरावल गाउँपालिकाद्वारा सञ्चालित सम्बाद कार्यक्रमबाट यो कार्य गर्न प्रेरणा मिलेको हो ।'

त्यस्तै : यो काम कसरी गरिएको छ भन्ने जिज्ञासा राख्दा सम्बाद कार्यक्रमका सहभागी दयानन्दन गुप्ता र बिपुल चाैधरी भन्छन : 'हामीले यो कार्य गर्नका लागि दुई दुई जनाको १५ वटा समूह बनाएका छौ र उक्त समुहले आफ्नो घर वरिपरिका अभिभावक, बालबालिकाहरुलाई राम्रोसँग स्यानिटाईजरले हात सफा गर्ने, हाच्छ्यु गर्दा रुमालको प्रयोग गर्ने, रुमाल छैन भने बाहुला प्रयोग गर्ने, हात नधोईकन अनुहार नछुने, हात धुँदा २० सेकेन्ड सम्म साबुन पानीले धुने, अस्वस्थ मानिसको नजिक नजाने, भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने जस्ता कुराहरु सिकाइ रहेको र ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, घाँटीमा संक्रमण हुने जस्ता कोरोनाका लक्षणहरुबारे पनि अभिभावकहरुलाई सचेत गराई रहेको छ ।'

देशमा कोरोना भाइरसको त्रासले जनताहरु घरबाट बाहिर निस्किन डराई रहेका छन् । यतिबेला सहरका हजारौ किशोर किशोरीहरु फेसबुक र माेबाइलमा व्यस्त छन् तर देशका दुर्गम ठाउँका किशोर किशोरीहरु कोरोना भाइरसबाट कसरी समाजलाई बचाउन सकिन्छ भनेर घर घरमा गएर कोरोना भाइरसबारे सचेतना गराउदै हिडेका छन् । यो उनीहरुको समाज र देशप्रतिको मोह भन्न सकिन्छ । राष्ट्र र जनताप्रतिको मोह सबैमा हुन्छ नै तर मोह मात्र भएर हुँदैन जबसम्म यसलाई व्यवहारमा लागु गरिदैन । सरावल गाउँपालिकाका किशोर किशोरिहरुले राष्ट्र र जनताप्रतिको मोहलाई व्यवहारमा उतारेका छन् र कठिन भन्दा कठिन परिस्थितिमा पनि समाजका लागि केहि न केहि सकारात्मक काम गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावनाको सिर्जना गर्ने एउटा उदाहरण नै बन्न पुगेका छन् ।

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले किशोर किशोरीहरुकाे कामकाे प्रशंसा गर्दै विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुन सक्ने जोखिम न्युनीकरण गर्न स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड अनुसार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने लगायतका उपाय अपनाउन अाम-जनसमुदाय अाग्रह गर्नु भएको छ ।

नेपाल भारत खुल्ला नाका रहेको तथा विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम राखेको छ । त्यसैले अहिलेको यो विषम परिस्थितिमा सम्पुर्ण नागरिकलाई सचेत भई लकडाउनको पालना गर्न आग्रह गर्नु भएको हो । त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायले यस विपतकाे घडीमा किशोर किशोरीले गरिरहेको कार्य प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका गर्न सबैले लकडाउनको पालना आवश्यक रहेको बताउनुभयो । साथै अाफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै काेराेनाबाट बच्न जनसमुदायलाई सामाजिक दुरी बनाएर बस्न अाग्रह गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...