भैरहवा । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले कोरोना रोकथाम तथा उपचार कोषमा २ लाख सहयोग गर्ने भएको छ ।
सहकारीले रुपन्देहीका चार स्थानीय तह तिलोत्तमा, सिद्धार्थनगर, सियारी र ओसतिया गाउँपालिकालाई ५० हजारका दरले सहयोग गर्ने जानकारी गराएको हो । कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी स्थानीय तहहरुले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई थप प्रभावकारी बनाउन ५० हजारका दरले २ लाख सहयोग गरेको जनउत्थान सकोसका कोषाध्यक्ष सरु रानाले बताउनुभयो ।
विपद व्यवस्थापनका लागि सहकारीका सबै शेयर सदस्यहरुको खाताबाट रु. १० सहयोग गर्ने साधारणसभाको अधिकारलाई प्रयोग गर्दै कोरोना नियन्त्रण तथा उपचार कोषलाई सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । प्रत्येक वर्ष विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्न रकम विनियोजन गर्दै आएको र यस चालु आर्थिक वर्ष पनि सामाजिक क्रियाकलाप अन्तर्गत साकोसले दस लाख विनियोजन गरेको अध्यक्ष ज्ञानु पौडयालले बताउनुभयो । " विपद व्यवस्थापन एवं कोरोना रोकथाम तथा उपचार कोषमा ५० हजारका दरले यी चार स्थानीय तहमा सहयोग गरिएको हो " उहाँले भन्नुभयो । उहाँले विपद व्यवस्थापनका साथै विभिन्न सामाजिक क्रियाकलापमा पनि सहकारी अग्रसर रहेको बताउनुभयो । १ अर्ब ७० करोड कुल पुँजी रहेको जनउत्थानमा हाल १९ हजार ३ सय शेयर सदस्य र ४२ जना कर्मचारी रहेका छन् भने ४ वटा सेवा केन्द्र छन् ।
No comments:
Post a Comment