(सए) चितवन । राष्ट्रिय जनमुक्ति पार्टीको भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानको पहिलो चरणको कार्यक्रम चितवनको नारायणगढमा समापन गरिएको छ । भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९, २०२०) को सन्दर्भमा केन्द्रीय स्तरमा एक कार्यक्रम आयोजना गरी उक्त समापन कार्यक्रम सम्पन्न गरिएको हो । भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समितिले आयोजना गरेको सो कार्यक्रममा चितवनको भरतपुर महानगरपालिकाभित्र मार्चपास गरी भ्रष्टाचार विरुद्ध जनताको अन्तिम हस्ताक्षर लिने कार्यक्रम सहित नारायणगढ पुल्चोकमा नागरिक सभा गरी भ्रष्टाचार विरुद्ध जनताको हस्ताक्षर संकलन कार्यक्रमको पहिलो चरण समापन गरिएको हो ।
प्रदेश १, ३ र ५ का जिल्लाहरुका सदरमुकाममा पार्टीको स्थानीय जिल्ला समितिहरुको आयोजनामा सदरमुकाम केन्द्रित अन्तिम हस्ताक्षर लिने कार्यक्रम सम्पन्न गरिएको छ । चितवनको नारायणगढमा आयोजित नागरिक सभालाई राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव एवं भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानका केन्द्रीय संयोजक केशव सूर्यवंशीले विशेष सम्बोधन गर्नु भयो । उहाँले देशमा व्याप्त भ्रष्टाचारलाई नियन्त्रण होईन निर्मूल गरिनु पर्ने बताउनु भएको छ । यसका लागि भ्रष्टाचार विरुद्ध कडा संवैधानिक व्यवस्था निर्माण पहिलो आवश्यक्ता भएको उहाँले औंल्याउनु भएको छ । भ्रष्टाचार अन्त्यका लागि नेपालको संविधानमा भ्रष्टाचारलाई राष्ट्रद्रोह मान्ने, भ्रष्टाचारीलाई न्यूनतम जन्मकैद र उसको सम्पत्ति राष्ट्रियकरण गर्ने व्यवस्था हुनै पर्नेमा जोड दिनुभयो ।
उहाँले देशमा विद्यमान उद्योगहरुलाई पुनर्जीवन दिन नचाहने सरकारले रोजगार स्थापना गर्न नसक्ने स्मरण गर्दै घोषणा पत्रमा गरिने राजनीतिक प्रतिवद्धता अनुसार कार्य नगर्ने पार्टी र जनप्रतिनिधिलाई अदालतमा तान्ने कानूनी व्यवस्था आवश्यक भएको बताउँदै देश आत्मनिर्भर नबन्दा सम्म जनप्रतिनिधिहरुले तलब भत्ता लिन नहुने राज्यको नीति हुनु पर्नेमा जोड दिनु भयो । जनताको बलमा स्थापित व्यवस्थालाई नै धाराशायी बनाउने गरी बढ्दै गएको भ्रष्टाचार विरुद्ध सबै जनताले गम्भीर रुपमा छलफल गर्न भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानका संयोजक एवं महासचिव सूर्यवंशीले अपील गर्नु भएको छ । उहाँले भन्नुभयो – प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीका लागि संघर्षका लागि जनता अब तयार हुनु पर्छ ।
जनताले अहिले सम्म प्रदान गरेको भ्रष्टाचार विरुद्धको हस्ताक्षर ईमान्दार पूर्वक प्रधानमन्त्री र सभामुखलाई बुझाईने संयोजक सूर्यवंशीको उदघोष छ । उहाँले अब स्थानीय तहमा जनताको हस्ताक्षर लिने र स्थानीय जनतासंग भ्रष्टाचार उन्मूलन सम्बन्धमा प्रत्येक्ष सम्वाद गर्ने कार्यक्रम अगाडि बढाईने बताउनु भएको छ ।
नागरिक सभामा पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख राम परियार र उपाध्यक्ष एवं महिला ईन्जार्च कमला थापाले वर्तमान सत्तासिनहरुको झगडा जनता र देशको विकासका लागि नभई निहित स्वार्थ पूर्तिका लागि केन्द्रित रहेको बताउनु भयो । कोरोना महामारीको बहानामा देश र जनतालाई थप लथालिड्ड पार्ने काममा सत्ताधारीहरु वेशरम अगाडि बढीरहेको बताउँदै वर्तमान सरकारले जनताको विश्वासमा नराम्ररी धोखा दिएको नेताहरुको भनाई छ ।
हस्ताक्षर संकलन, मार्चपास र नागरिक सभा कार्यक्रममा पार्टी उपाध्यक्ष हस्त बहादुर थापा, संघीय परिषद सदस्यहरु नर बहादुर ठाडा, ज्ञान बहादुर गुरुङ्ग, खेम गुरुङ्ग, संघीय महासभा सदस्य केहर सिंह राना लगायत प्रदेश तथा जिल्लाका नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो । स्थानीय जनताको प्रभावकारी सहभागिता रहेको नागरिक सभाले चितवनमा सकारात्मक प्रभाव पारेको राष्ट्रिय जनमुक्ति पार्टी, चितवनको विश्लेषण रहेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी, भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान मूलुकका सातै प्रदेशका प्रमुख शहरहरुबाट एकै पटक २०७६ जेष्ठ १५ गते उदघोष गरिएको थियो । सो क्रममा भ्रष्टाचार विरुद्ध जनताको हस्ताक्षर संकलन गर्ने कार्यक्रम पनि शुरुवात गरिएको थियो । नारायणगढमा सम्पन्न कार्यक्रमलाई भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानका केन्द्रीय प्रवक्ता एवं उपमहासचिव टोप अस्लामीले सन्चालन गर्नु भएको थियो भने केन्द्रीय संयोजक एवं पार्टी महासचिव केशव सूर्यवंशीले भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान अन्तरगत जनताको हस्ताक्षर संकलन कार्यक्रम पहिलो चरण समापन भएको घोषणा गर्नु भएको हो । कार्यक्रमको व्यवस्थापन राष्ट्रिय जनमुक्ति पार्टी, जिल्ला समिति, चितवनले गरेको थियो ।
No comments:
Post a Comment