कोरोना महामारीका कारण सीमित सङ्ख्यामा उपस्थित भएर आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रमा बोल्दै चुम्लुङ यूकेका सचिव विश्वासदीप तिगेलाले आदिवासी समुदायको साँस्कृतिक विद्रोहका प्रतीकका रूपमा उनीहरूलाई स्मरण गरेको बताए । ‘सम्भवतः रामलिहाङ र रिदामा नेपालका पहिलो साँस्कृतिक सहिद हुन सक्छन्,’ तिगेलाले थपे, ‘आदिवासी समुदायको पहिचानलाई जोगाउन उनीहरूले सहादत दिए ।’ उनले आदिवासी समुदायका धेरै जातिहरू अझै पनि दसैँ नमान्ने गरेको चर्चा गरे । यसैगरी, लिम्बु पत्रकार सङ्घका अध्यक्ष अमित थेवेले रामलिहाङ र रिदामालाई अझै पनि आदिवासी समुदायले साँस्कृतिक चेतको विम्बका रूपमा लिने गरेको जिकिर गरे । ‘आठपहरिया समुदायमा मात्रै नभएर उनीहरू अन्य गैरहिन्दू आदिवासी समुदायमा पनि विद्रोहका विम्बका रूपमा स्मरण गरिन्छन् ।’ उनले भन् । उनले सन् १८६७ मा धनकुटाको चुलीवनमा हत्या गरिएका आठपहरियाहरू होम्बारक थरका वंशजहरू भएको बताए । अर्का सहभागी लिम्बुवान नागरिक समाज यूकेका उपाध्यक्ष नवराज काम्वाङले सुब्बाङ्गी प्रथा र गोरखा भर्ती केन्द्रका कारण धेरै याक्थुङ समुदायमा दसैँको प्रभाव परेको धारणा राखे ।
यसैगरी, सोमबारका दिन धनकुटाको चुलीवनमा रहेको रामलिहाङ र रिदामाको शालिकमा स्मृति सभा कार्यक्रम राखेर माल्यार्पण गरिएको आदिवासी अधिकारकर्मी निमा पोङ्सुवाले बताए । दुई दर्जन बढीको सहभागितामा भएको कार्यक्रममा रामलिहाङ रिदामा स्मृति पार्कस्थित शालिकमा श्रद्धाञ्जली अर्पण गरिएको उनले जानकारी दिए । गत साल पनि यूकेमा उनीहरूको स्मृतिमा कार्यक्रम राखिएको तिगेलाले बताए । उनीहरूलाई प्रत्येक वर्ष दसैँको टीकाका दिन स्मरण गरिने जनाए ।
No comments:
Post a Comment