उमेश बि.क
नवलपरासी-२८ असार ।
लगातार तीन दिनदेखि परिरहेको झरीले पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५, ६, ७ र पाल्हीनन्दन गाउँपालिका–१, शंकरपुर जलमग्न भएका छन् ।
वर्षातको पानीले निकास नपाउँदा गाउँ डुबानमा परेका हुन् । निरन्तर अबिरल वर्षाकाे कारणले गर्दा २ दिनदेखि जलमग्न हुदा स्थानीयलाई सास्ती भाेग्न परेको छ ।
वर्षाकाे कारणले गर्दा सरावलकाे वडा नं. ६ मा करिब ३० घर तथा वडा नं. ७ मा १५ घर विस्थापित भएको स्थानीय घनश्याम चाैधरीले जानकारी दिनुभएको छ ।जनप्रतिनिधिहरुले दीर्घकालीन समाधानको उपाय नअपनाउँदा हामी सधैंभरि बाढीको त्रासमा बस्नुपरेको चाैधरीले बताएका हुन् ।
गाउँ तथा बाटोमा पनि घुँडाभन्दा माथि पानी पुगेकाले स्थानीय समस्यामा परेका छन् । भेल पसेर धान बाली पुरिएको छ । घरभित्र पानी पस्दा अन्न र पशुचौपाया जोगाउन धौंधौं परेको सरावल-६ की सिन्धुलि कुर्मीले बताउनु भयो ।
त्यस्तै मैनुदिन चुरिहार भन्नुहुन्छ ‘बाढी गाउँघरमा पसेको समयमा समस्या बुझ्न जनप्रतिनिधि अाएकाे छैनन् । सम्बन्धित वडा अध्यक्षलाई भन्दा म के गर्नसक्छु' जवाफ दिने गरेको बताउनुभएको हाे ।
पानीको कारणले गर्दा सर्प तथा किरा फट्याङ्ग्रा बढेकाे र एक जनालाई सर्पले पनि डसेकाे लक्ष्मिकान्त चाैधरीले बताउनु भएको छ । वर्षाले बहाव झन् बढ्दै गएपछि अासपासका गाउँ त्रासमा रहेका छन् ।
पश्चिम नवलपरासीको प्रतापपुर, सरावल ,पाल्हिनन्दन र सुस्ता गाउँपालिकाका बासिन्दा सधैं बाढी र प्राकृतिक विपद्को जोखिममा रहेका छन् ।
साे स्थानका केहि बस्ती डुबानमा परेको भएपनि अहिलेसम्म धनजनको क्षति नभएको स्थानीयले बताए ।
No comments:
Post a Comment