ओमसतिया, रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ३ हाटी फर्साटीकरमा अपरिचित मानिसहरुको आवागमन निषेध गरिएको छ । सरकारले मंगलबारदेखि जारी गरेको लकडाउन आदेशको पालना गाउँतिर फितलो हुँदा यस्तो गरिएको हो । हाटी फर्साटीकर गाउँ मुख्यतया धकधई र ठुटिपिपल बजार भएर यात्रा गर्ने मूल मार्ग रहेको र सरकारले १३ गतेबाट जारी गरेको लकडाउनको आदेश गाउँतिर पालना नहुँदा गाउँलेहरु यस्तो कार्य गर्न बाध्य भएको समाजसेवी सुरेन्द्र चौधरीले बताए ।
लकडाउनको समयमा पनि दिनहुँ हजारौं मानिसहरु सोही बाटो भएर यात्रा गरेको कारण सिङ्गो गाउँ कोरोना भाइरसको संक्रमणबाट गुज्रिन सक्ने बताउँदै यस्तो कदम चालेको गाउँलेहरु बताउँछन् ।
उता गाउँपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न सूचना मात्र जारी गरी अनुगमन नगर्दा अहिले पनि गाउँतिर मानिसहरुको चहलपहलमा नियन्त्रण हुन नसकेको भूतपूर्व गा. वि. स. अध्यक्ष भगवान प्रसाद चौधरीले गुनासो पोखे । त्यस्तै यस कार्यबाट यात्रुहरुमा पर्न गएको असुविधा प्रति आफूहरु क्षमा प्रार्थी रहेको ओमसतिया सांस्कृतिक युवा क्लबका अध्यक्ष निलम कुमारी थारुले बताइन् ।
उनले गाउँभरि माइकबाट कोरोनाबाट बच्न अपनाइने उपायहरुको बारेमा जानकारी समेत गरिएको उनले बताइन ।
No comments:
Post a Comment