Friday, March 27, 2020

रोहिणी गाउँपालिकामा १५ शैयाको क्वारेन्टाइन

रुपन्देही  । रुपन्देहीको रोहिणी गाउँपालिकाले वैदेशिक रोजगारको सिलसिलामा बाहिर गई फर्किएका नेपालीहरुलाई लक्षित गरी १५ शैयाको क्वारेन्टाइन स्थापना गर्ने भएको छ ।गाउँपालिमा बसेको सर्वदलीय बैठकले धकधईमा रहेको श्री रामनरेश आदर्श माध्यमिक विद्यालयमा 'जी ब्लकको भवन' लाई १५ शैयाको क्वारेन्टाइन बनाउने र आवश्यकता अनुसार क्रमश : थप गर्दै जाने निर्णय गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागी क्वारेन्टाइनका आवश्यकता भएको बताए ।
रोहिणी गाउँपालिकामा धेरै जना वैदेशिक रोजगारको सिलसिलामा बाहिर गएको र हाल घर फर्किएर आएकोले यस्तो व्यक्तिको निगरानी बढाई उनीहरुलाई सोही क्वारेन्टाइनमा राख्ने तयारी भैरहेको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताए । कोरोना संक्रमित एक युवती चढेकै हवाइजहाजमा गाउँपालिकाका केही युवाहरु पनि आएकोले उनीमाथी विशेष निगरानी राखिएको यादवले जानकारी दिए ।

रोहिणी गाउँपालिका वडा नम्बर २ बस्ने मेराज अहदमको अहिले भैरहवा स्थित भीम अस्पतालमा स्वास्थ्य परीक्षण गरी उनलाई सोही क्वारेन्टाईनमा राखिने भएको छ । गाउँपालिका अध्यक्ष यादवले विदेशबाट आएका व्यक्ति तथा संक्रमितको आशंका गरिएका व्यक्तिलाई अनिवार्य रुपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको बताए । सेल्फ क्वारेन्टाइनमा बस्न नमान्ने वा राख्न नसक्ने अवस्थाका शंकास्पद व्यक्तिलाई सम्बन्धित वडा, संघ–संस्था, सुरक्षा निकाय र स्वास्थ्यकर्मीको समन्वयमा गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिने उनले बताए । यसको लागि अत्यावश्यक औषधी लगायत, प्रतिकार्य सामाग्रीको व्यवस्थाको लागी गाउँपालिकाले प्रयास गरिरहेको छ । गाउँपालिकाले विदेशी मुलुक भारत लगायत अन्य मुलुकबाट आएका व्यक्तिहरुको व्यक्तिगत विवरण स्वास्थ्य संस्था, सुरक्षाकर्मी तथा वडा कार्यालयको सहयोगमा संकलन गर्ने तयारी भइरहेको छ । कोरोना भाइरसको संक्रमित भए आफुलाई मात्र नभई आफ्नो परिवार हुँदै सम्बन्धित समाजलाई नै असर पार्ने हुँदा बाहिरबाट आएका व्यक्तिहरु सेल्फ क्वारेन्टाइन वा गाउँपालिकाले स्थापना गर्ने क्वारेन्टाइनमा बस्न यादवले अनुरोध गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...